असार श्रावणको वर्षात छ
सोचिरहेको प्रभात छ
अध्यारो अनि शान्तमा
मध्य रातको एकान्तमा
ढिलो आउने निन्द्रा कुर्दै
आफ्नो कोठाको भित्ता घुर्दै
बसिरहेको मलाई
एकलो नभएको आवास दिलाउने
कोहि त छ भन्ने विश्वास दिलाउने
कहिले गाउँ कहिले शहर सम्झाउने
कहिले मरिसकेको रहर सम्झाउने
कहिले तारा अनि जूनलाई सम्झाउने
कहिले मेरा साथी अनि उनलाई सम्झाउने
पानीका थोपाहरु
अब मलाई जिस्काउने छैनन्
किनकी मैले टाल्ने भएको छु
छ्तको त्यो प्वाल
जहाँ बाट बग्ने गर्थे
शव्दहरु भावहरु
सपनाहरु ख्वावहरु
क्रान्तिका गजलहरु
परिवर्तनका पलहरु
कसैका कथाहरु
अनि मेरा कविताहरु
हो
यस्तै यस्तै कुरा रहेर त हो
भावनात्मक सम्बन्ध भएर त हो
म लेख्दैछु अन्तिम एक
कविता
छानो टाल्नु अधि